नियम २८
बढुवाका लागि उम्मेदवार हुन चाहिने सेवा अवधि
: (१) प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिकोे पदमा देहाय बमोजिमको न्यूनतम सेवा अवधि पूरा भएको हुनु पर्नेछ :
(क) प्रहरी सेवाको राजपत्राङ्कित अधिकृत पदका लागि तीन वर्ष,
(ख) प्रहरी सेवाको राजपत्रअनंङ्कित पदबाट राजपत्राङ्कित अधिकृत पदमा बढुवा हुनका लागि पाँच वर्ष
(ग) राजपत्रअनंङ्कित पदका लागि चार वर्ष
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी नायव महानिरीक्षक र सो भन्दा माथिल्लो पदमा बढुवा हुन न्यूनतम सेवा अवधिको हद लाग्ने छैन ।
२क) उपनियम (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा. लेखिएको भए तापनि देहायका प्रहरी कर्मचारीको. हकमा बढुवाको लागि उम्मेदवार हुन देहायको पदको सेवा अवधि गणना हुनेछ:-
(क) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी नायब निरीक्षक पदमा बहाल रही प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारी प्रहरी निरीक्षक पदमा बढुवाको लागि उम्मेदवार हुन प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पदको सेवा अवधि,
(ख) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी हवल्दार पदमा बहाल रही प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारी प्रहरी सहायक निरीक्षक पदमा बढुवाको लागि उम्मेदवार हुन प्रहरी वरिष्ठ हवल्दार र प्रहरी हवल्दार पदको सेवा अवधि,
(ग) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी जवान पदमा बहाल रही प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारी प्रहरी हवल्दार पदमा बढुवाको लागि उम्मेदवार हुन प्रहरी सहायक हवल्दार र प्रहरी जवान पदको सेवा अवधि।
(३) नियम २९ को उपनियम (४) बमोजिमको शैक्षिक योग्यता नभए तापनि देहायको अवधि पुरा गरेको प्राविधिक प्रहरी समूहको प्रहरी कर्मचारी देहायको पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्नेछ :
(क) प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा बढुवा हुन चौध वर्ष ।
(ख) प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुन पन्ध्र वर्ष ।
(३क) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी नायब निरीक्षक पदमा बहाल रही प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवा भएको प्रहरी कर्मचारीको हकमा उपनियम (३) को खण्ड (क) बमोजिम प्रहरी निरीक्षक पदमा बढुवाको लागि आवश्यक पर्ने सेवा अवधि गणना गर्दा प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पदको सेवा अवधि गणना हुनेछ।
(४) वढुवाको लागि न्यूनतम सेवा अवधि आवश्यक नपर्ने पदमा कार्यरत प्रहरी कर्मचारीको हकमा बहाल रहेको पदमा तीन वर्ष अवधि पुगेको भए पछिल्लो तीन वर्ष र तीन वर्ष अवधि नपुगेको भएमा बहाल रहेको पद भन्दा एक तह मुनिको पदमा कार्यरत रहेको नोकरी अवधि मध्ये पछिल्ला वर्षहरुको समेत गरी जम्मा तीन वर्षको कार्य सम्पादन मुल्यांकन वापत प्राप्त अङ्कको औसत अङ्क गणना गरिने छ ।